काठमाडौं - बलात्कारपछि हत्या गरिएकी बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौं ल्याइएको छ।

पीडित परिवारसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन् ।  बालिका गरिमा हराएको तीन दिनसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिलाई समयमै अनुसन्धानको दायरामा नल्याएको आरोप परिवारले लगाउँदै आएको छ।

घटनाको अनुसन्धानमा प्रहरीबाट ढिलासुस्ती भएको भन्दै परिवारले न्यायका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएको हो।

मंगलबार साँझ बालिकाको शव भेटिएपछि प्रहरीले जीतपुरसिमरा–२ का दुई किशोरलाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान अघि बढिरहेका बेला पीडित परिवारलाई काठमाडौं ल्याएर सरकारका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गराउन लागिएको हो।

गरिमाको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा समेत प्रदर्शन भएको छ। स्वतन्त्र युवाहरूले आयोजना गरेको प्रदर्शनमा घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरिएको छ।

प्रदर्शनकारीहरूले बालिका हराएपछि उनको खोजीमा प्रहरीले देखाएको भनिएको ढिलाइ र परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समयमै अनुसन्धान नभएको विषयलाई गम्भीर रूपमा उठाएका छन्।

उनीहरूले अनुसन्धानका क्रममा कुनै प्रकारको लापरबाही वा दबाब हुन नहुने भन्दै घटनाको सम्पूर्ण पाटो छानबिन गर्न माग गरेका छन्।

बालिकाको शव भेटिएपछि प्रहरीले दुई किशोरलाई पक्राउ गरे पनि घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहेको भन्दै पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गरिरहेको छ।