काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति भएको छ ।

विद्यालय शिक्षा विधेयक माथिको छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति भएको हो । विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने भएकाले १० को परीक्षा स्कुलस्तरमै गर्न सहमति भएको छ ।

१ देखि कक्षा ८ सम्म स्थानीय तहले गर्ने र माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति भएको छ । त्यसैगरी जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने पनि सहमति भएको छ । उपसमिति सदस्यका अनुसार ईसीडीलाई २ वर्षको बनाउने पनि सहमति भएको छ ।  तर, उपसमितिमा सहमति भएका विषय सार्वजनिक गरिएको छैन ।

प्रदेश–प्रदेशबाट आएको सुझाव, सांसदको संशोधन,विज्ञका सुझाव सबैलाई एकीकृत गरेर दफावार छलफल भइरहेको उपसमितिले जनाएको छ ।

आज शनिबार पनि उपसमितिको बैठक बस्दै छ । शिक्षकहरूले ऐन जारी गर्न माग गरेपछि उपसमितिले द्रुत गतिमा छलफल गरिरहेको छ । सरकार र शिक्षक महासंघबीच वार्ता भए पनि सहमति जुटेको छैन । गत चैत २० गतेदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।