काठमाडौं - आज सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमगरि मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । सो दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ ।

मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन नसकेको विज्ञहरु बताउँछन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दैगएको हो ।

२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । सांस्कृतिक एकताको मुख्य पाटो मानिने भाषाको उचित संरक्षण र संवद्धन हुन नसक्दा नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेको भाषा आयोगले बताएको छ ।

आदिम समुदायका मातृभाष विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा समेत प्रयोग नहुँदा यी भाषा सङ्कटमा परेको आयोगको भनाईछ ।

एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम गरिरहेका जनाएको छ ।