कञ्चनपुर - भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलिने भएपछि महाकाली नदीमा जलस्तर बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतीय पक्षले आज राति १ बजेदेखि १९ गते राति १ बजेसम्म करिब ४८ घण्टा धौलीगंगा बाँधका ढोका खोलिने जानकारी गराएको छ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट प्राप्त पत्रका आधारमा प्रशासनले सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा तथा त्यसपछि समेत महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको हो।

प्रशासनले महाकाली नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन, नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ।