काठमाडौं  - सरकारले आगामी २०८७ अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएका मुलुकमा स्तरोन्नति गर्न दृढ रहेको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रवार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७र०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

'२०८७ अगावै दीगो विकासका लक्ष्यहरू हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यमा सरकार दृढ छ,' राष्ट्रपति भण्डारीले भनिन् ।

सरकारको यही कार्यकालभित्र विकासशील राष्ट्रको पंक्तिमा र विक्रम संवत् २०९९ सालसम्ममा नेपालीलाई समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरू अघि बढाइएको उनले बताइन् ।

उनले थपिन्, 'समाजमा कोही पनि पछि नपरून् भन्नेमा यो सरकार संवेदनशील छ । २ वर्षको अवधिमा शहरहरू सडक बालबालिका र सडक मानवमुक्त भएका छन्, मगन्ते रहित भएका छन् । शौचालयको उपलब्धता र प्रयोगमा सुधार ल्याई नेपालीलाई सभ्यताको एकस्तर माथि उठाउने कार्यमा लक्षिण एसियामा नेपाललाई पहिलो हुने सफलता मिलेको छ ।'

 राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस शताब्दीकै ठूलो महामारीका रुपमा आएको बताएकी छिन्। 

यसबाट बच्न स्वास्थ्य सेवालाई चुस्त बनाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । आर्थिक वर्ष २०७७र७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले अदृश्य शत्रुविरुद्ध विश्व नै लडिरहेको र यो कहिले नियन्त्रणमा आउँछ भन्ने थाहा नभएकोले योविरुद्धको जितको विकल्प नभएको बताइन् । 

कोरोनाबाट हुने आर्थिक क्षतिको पूर्तिलाई आउँदो दिनमा अन्वेषण गरेर पूरा गर्न सकिने तर मानवीय क्षतिको पूर्ति हुन नसक्ने उनको भनाइ छ । मानवसँगै विचार र उसको क्षमताको क्षति पनि अपुरणीय हुने भएकाले यसलाई रोक्नु सबैको सर्वोच्च कर्तव्य हुन आएको राष्ट्रपति भण्डारीको भनाइ छ । 

कोरोनाले विश्वका सवै देशको अर्थ व्यवस्थामाथि गम्भीर धक्का पुर्‍याएको, पर्यटन ठप्प रहेको र उत्पादन र वितरण प्रणाली प्रभावित हुँदा लाखौँको रोजगारी गुमेको उनले बताइन्  ।  कोरोनाले दिगो विकास लक्ष्य पूरा गर्न ठूलो व्यवधान खडा भएको भण्डारीले बताइन् ।