मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेका छन्ः माधव नेपाल
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्। आइतबार अखिल नेपाल महिला सङ्घ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूले सरकारबाट फिर्ता हुनका लागि आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका हुन्।
मन्त्रिपरिषद् पुनर्गठनका लागि पार्टीले पठाएको पत्र पर्याप्त रहेको भन्दै त्यसकै आधारमा सरकारले तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘मानिसहरूमा मन्त्रीको कुर्सीमा बसिसकेपछि हट्नै नचाहने प्रवृत्ति छ। इमानदार कार्यकर्ताले पार्टीको निर्णय थाहा पाउने बित्तिकै सम्मान गर्न, पालन गर्न तयार हुनुपर्छ। मलाई खुसी लागेको छ, केही मन्त्रीहरूले राजीनामा पत्र मलाई दिनुभएको छ। त्यो पत्र गोजीमा लिएर हिँडिरहेको छु। कुनै बेला प्रेसमा पठाएर त्यसलाई सार्वजनिक पनि गर्नेछु।’
अध्यक्ष नेपालले गठबन्धन सरकारलाई निरन्तरता दिइने पनि बताए। गठबन्धन सरकार कायम रहने उल्लेख गर्दै गलत कुराका विरुद्धमा भने सङ्घर्ष गर्ने उनको भनाइ छ। उनले आउँदो चुनावमा गठबन्धन नभए पनि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी तयार रहन नेता, कार्यकर्तालाई निर्देशन दिए।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक मत जम्मा गर्नका लागि सबै निर्वाचन क्षेत्रमा ‘डमी’ उम्मेदवारको रूपमा भए पनि उम्मेदवार खडा गर्नुपर्ने उनले बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस