काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्कलगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा बसेकाहरूमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीको क्‍वारेन्टाइमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरे । सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरूलाई भक्तपुरको खरिपार्टीस्थित क्‍वारेन्टाईनमा राखिएको थियो । 

देवकोटाले आइतबारसम्म राष्ट्रिय प्रयोगशालामा १५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडौंबाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौंडा र धनगढीमा पनि परीक्षण भइरहेको जानकारी दिए । उनले चितवनमा नमुना परीक्षण टेस्टको काम भइरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने बताए । काठमाडौंमा १२ जना र बाहिर १ सय १ गरी १ सय १३ जना आइसोलेनमा रहेको पनि उनले जानकारी दिए । 

मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरू ८ हजार ९७ पुगेका छन् । आइतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र तीमध्ये २४ विवरण रेड जोनमा परेको उनले जानकारी दिए । योसँगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ ।

उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्टाइनमा रहेका सबैको तथा चैतमा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेस्टबाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुनः पीसीआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशनअनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबारै टोली पठाउने निर्णय भएको जानकारी दिए ।