काठमाडौं - एनआईसी एशिया बैंकले कोभिड १९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियो ।

उक्त योजनामा सहभागी हुन १६ दिन मात्र बाँकी रहेकोले समयमै मौकाको फाइदा उठाउन बैंकले ऋणीहरूमा आह्वान गरेको छ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकहरूले यस योजनामा सहभागी भई अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बताइएको छ ।

महामारीको समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब रू. ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको जानकारी समेत गराएको छ ।

आश्विन महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोनाले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहकहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।