महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ
असार १०, जनकपुरधाम - धनुषामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्।
शहिदनगर नगरपालिका– ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो। घटना पश्चात फारर श्रीमान र ससुरा ८ महिना पश्चात पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा श्रीमान रामचन्द्र मण्डल खत्वे र उनका बुवा अर्थात् मृतककी ससुरा सहदेव मण्डल खत्वे रहेका छन्। सिरहाको गोलबजार नगरपालिका–५ बस्ने मुनेश्वर मण्डलको श्रीमती तेतरी देवी मण्डल (मृतकको आमा) ले रामचन्द्रलाई विपक्षी बनाइ कर्तव्य ज्यान मुद्दा शीर्षकमा ईलाका प्रहरी कार्यालय यदुकुहामा जाहेरी दरखास्त दिएकी थिइन्।
प्रहरीले अनुसन्धान गर्दै जाँदा भारतको लदनिया थाना (पञ्चायत) तेनुवाही गाउँमा लुकीछिपी बसिरहेको भन्ने सूचना प्राप्त गरेको थियो। बुधबार उनीहरू भारततर्फबाट सिरहाको वरियारपट्टी गाउँपालिका– ३ वरियारपट्टी चौकतर्फ हिँड्डुल गर्दै आइरहेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
पक्राउ परेका उनीहरू दुवै जनालाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस