काठमाडौं - लण्डनस्थित नेपाली दूतावासले हालसम्म बेलायतमा ४४ जना नेपालीको कोरोना संक्रमणका कारण  मृत्यु भएको जनाएको छ ।

दूतावासले महामारी शुरु भएदेखि मृत्‍यु हुने नेपाली धेरै रहेपनि विहीबारसम्म कोरोना पुष्टी हुने ४४ रहेको बताएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरनले  मृत्यु हुनेमध्ये अधिकांश वृद्धावस्था र अन्य गम्भीर स्वास्थ्य अवस्थाका रहेको बताए। त्यस्तै, मृतकहरुमध्ये दुई तिहाईभन्दा बढी भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्यहरु छन् ।

कोरोना महामारी शुरु भएयता बेलायतमा कोरोना पुष्टी हुनेबाहेक अन्य २५ जना नेपालीको मृत्यु भएको दूतावासको भनाइ छ । जसमध्ये ८५ प्रतिशत भूतपूर्व गोर्खा परिवारकै छन् ।

उनीहरुमध्ये १५ जनाको अन्य कारणबाट मृत्यु भएको भएपनि १० जनामा कोरोनाको संक्रमण हो वा होइन भन्ने खुल्न बाँकी छ ।

प्रवक्ता आरनले मृतकका परिवारले आफ्नो प्रियजनको मृत्युको कारण खुलाउन नचाहेका कारण पूर्ण तथ्यांक संकलनमा कठिनाई भएको बताएका छन् ।