काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नयाँ पिँढीलाई भाषा र संस्कृतिमार्फत् दीक्षित गर्नुपर्ने आवश्यकता बढेको बताएका छन् । नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री भट्टराईले यस्तो आववश्यकतामा जोड दिएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने यस्ता खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गरे । उनले समाजमा हुने अराजकता र उछृङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने उल्लेख गरे । त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने मन्त्री भट्टराईले बताए ।

उनले भने, ‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुने गर्दछ । त्यस्ता खालका कोसिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

उनले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराउँदै भने, ‘विविधतायुक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यकतामा पर्दछ ।’