काठमाडौं - नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको र मतगणनामा पनि गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ । एमालेले निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनमाथि विभिन्न १५ बुँदे आरोप लगाएको छ ।

सत्ता गठबन्धनबाट मोर्चाबन्दी गरिएको भन्दै एमालेले त्यसका बाबजूद पार्टी निर्वाचनमा उभिएको पनि जनाएको छ । 'हामी सत्ता गठबन्धनबाट नेकपा (एमाले) विरुद्ध गरिऐका मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं ।' विज्ञप्तिमा उल्लेख छ ।