सुनसरी - सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही स्थानका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् । सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइए पनि आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार सामान्य विवादबाट सुरु भएको घटना केही समयमै उग्र बन्दै झडप, तोडफोड र आगजनीमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको थियो ।
घटनामा घाइते भएका १० जनाको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको परिचय खुल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जाने तयारीमा रहेका युवाहरू डिजे बजाउँदै जम्मा भइरहेका बेला अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै विरोध जनाएको थियो।
यही विषयमा सुरु भएको भनाभन राति करिब ९ बजेदेखि उग्र बन्दै गएर दुई पक्षबीच ढुंगामुढा, तोडफोड र आगजनीसम्म पुगेको स्थानीयले बताएका छन्।
घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। त्यतिबेलासम्म घर, मेडिकल पसल तथा सवारी साधनमा तोडफोड र आगजनी भइरहेको प्रहरीको भनाइ छ।
स्थिति थप नियन्त्रणबाहिर जान थालेपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर बल प्रयोगमार्फत अवस्था नियन्त्रणमा लिने निर्णय गरेको थियो।
त्यसक्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको हो। घटनापछि देवानगन्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

.gif)



