नेपाललाई सुहाउँदो खोप अनुमोदन
काठमाडौं - यो खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको सख्त नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् । ‘यो अत्यन्त खुसीका कुरो हो,’ डा. उप्रेतीले भने, ‘एमएचआरएको अनुमति विश्व स्वास्थ्य संगठनले दिएबराबर मानिन्छ ।’ बेलायतले यो खोपको १० करोड डोजको अर्डर गरिसकेको छ । त्यसअन्तर्गतको ४० लाख डोज केही दिनमा उपलब्ध हुने बेलायती दैनिक गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।
बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभाग (डिएचएससी) का अनुसार नियामक संस्थाका विज्ञले गरेको समीक्षाले सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड खोपले पूरा गरेको छ । बेलायतमा यो खोप जनवरी ४ देखि लगाउन सुरु गरिने र केही सातामै यसको गतिलाई तीव्रता दिइने बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बिबिसीलाई बुधबार बताएका छन् । सन् २०२० को सुरुको महिनादेखि नै अक्सफोर्ड र अस्ट्राजेनेकाले यो खोपको डिजाइन सुरु गरेका थिए । पहिलो स्वयंसेवीलाई अप्रिलमा परीक्षण गरिएको थियो भने त्यसपछि खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण बेलायत, ब्राजिल र भारतका हजारौं स्वयंसेवीमा गरिएको थियो ।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस