काठमाडौं - सोमबारबाट अमिताभ बच्चनले 'कौन बनेगा करोडपति'को छायाँकन सुरू गरेका छन्।

केही तस्विरहरू ट्विट गर्दै उनले कार्यक्रमको १२ औं संस्करणको छायाँकन सुरू भएको जानकारी दिएका हुन्। १२ औं पर्व, केबिसीः कौन बनेगा करोडपति, आरम्भ, उनले ट्विट गरेका छन्।

भारतमा लोकप्रिय रहेको कार्यक्रम यसपटक भने कोरोना महामारीका कारण फरक हुनेछ।यसपटक कार्यक्रममा पहिला जस्तो स्टुडियोमा दर्शक हुने छैनन्।

नयाँ निर्देशनहरूका कारणले गर्दा कार्यक्रममा दर्शक नहुने कार्यक्रमसँग सम्बन्धितले जानकारी दिएको बिबिसी हिन्दीले जनाएको छ।यसका अलावा कार्यक्रमको सेटमा काम गर्नेको संख्या पनि कम गरिएको छ।

अमिताभले केही दिन अगाडि सेटको तस्वीर सार्वजनिक गरेका थिए जसमा क्रुका सदस्यहरू पिपिईमा देखिएका थिए। केही समय अगाडि अमिताभ स्वयंलाई कोरोनाको संक्रमण भएको थियो।

कार्यक्रममा दर्शक नहुने भएपछि खेलको नियमहरूमा केही परिवर्तन देखिने सम्भावना रहेको छ। विशेषगरी स्टुडियोमा उपस्थित दर्शकको सहभागिता रहने 'अडियन्स पोल'को विकल्पमा परिवर्तन हुने ठानिएको छ। यध्यपी कार्यक्रम सम्बद्ध व्यक्तिले यसका बारेमा कुनै जानकारी सार्वजनिक गरेका छैनन्।