काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले कोरोना भाइरस विरुद्धको लडाइँमा आफ्नो पार्टी सरकारको साथमा रहेको बताएका छन्।

शुक्रबार सुरु भएको संसदको बजेट अधिवेशनको शुभारम्भको अवसरमा संसदलाई सम्बोधन गर्दै सभापति देउवाले कोरोनाको संकटका बेला सरकारमा नरहेर पनि एकसाथ लड्न सकिन्छ भन्ने भावनाले कांग्रेसले काम गरिरहेको बताए।

‘कोरोनाको संकटका बेला सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी नेपाली कांग्रेसले काम गरिरहेको छ’, सभापति देउवाले भने।

सभापति देउवाले देशभरका कांग्रेसका नेता कार्यकर्तालाई कोरोनको नियन्त्रण र रोकथामका लागि खटाएको र उनीहरु जिम्मवारीपूवृक कार्य गरिरहेको जानकारी दिए।

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न सरकारलाई हरतरबाट सघाउने र सरकारको बेथिति, भ्रष्टाचार र अधिनायकबालका विरुद्ध लड्ने नीति कांग्रेसले लिएको उनले जानकारी दिए।

 उनले देशबाहिर कोरोनाका कारण ज्यान गुमाउने नेपालीहरु प्रति श्रद्धाञ्जली र तिनका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। कोरोनाविरुद्धको लाडाईंमा अग्र भागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सफाईकर्मीको उनले खुलेरै प्रशंसा गरे।

उनले कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिको सामना राष्ट्रिय एकताका साथ गर्न समेत आग्रह गरे।

 सभापति देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावनाविपरित दुर्इवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप समेत लगाए।

उनले विपक्षी लगायत राजनीतिक दल, संचार माध्यम र समस्त नागरिक सहित सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएको बताए।

उनले संसदको अपहरणमा सरकारको सहभागिता देखिनु दुःखद् र दुर्भाग्यपूर्ण भएको बताएका छन्। ‘एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो। म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु’, उनले भने।