एजेन्सी - विश्वभर कोरोना भाइरसका कारण २८०४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो समय चीनमा संक्रमितहरुको संख्यामा कमी आइरहँदा विश्वका अन्य देशमा भने यो भाइरस तीब्र रुपमा फैलिएको छ ।

हालसम्म यो भाइरसबाट विश्वभर ८० हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै यो भाइरस ४९ वटा देशमा फैलिएको पुष्टि भएको छ । चीनमा मात्रै २७४७ जनाको मृत्यु भएको छ भने ७८ हजारभन्दा बढी संक्रमितहरु रहेका छन् ।

त्यस्तै ३२ हजारभन्दा बढी उपचारपछि ठीक भएर घर फर्किएका छन् । मिडिया रिपोर्टका अनुसार यो संक्रमण रोक्न विश्वभर प्रयास जारी रहेको छ । तर, पछिल्लो समय इटाली र दक्षिण कोरियामा यो भाइरसले कहर मच्चाइरहेको छ । दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ भने झण्डै १६०० जना यो भाइरसबाट संक्रमित भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको छ जापान । जापानमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ भने झण्डै ९०० जना यो भाइरसबाट संक्रमित भएका छन् । उता इटालीमा पनि मर्नेको संख्या १२ पुगेको छ । त्यस्तै संक्रमितहरुको संख्या ४७० पुगेको छ ।