भैरहवा - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको जिकिर गरे ।

अध्यक्ष दाहालले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले चासो देखाइरहेको भन्दै उनीहरुलाई सहज हुने गरी वातावरण तयार गर्न सरकार लागिरहेको बताए ।

नेकपा अध्यक्ष दाहालले तिलोत्तमा नगरपालिकाले मुलुकलाई नै लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिएको भन्दै रुपन्देही व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वार रहेको उल्लेख गरे ।स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले एक दिने तिलोत्तमा लगानी सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात क्षेत्रमा लगानी भित्राउने गरी आधा दर्जन बढी परियोजनामा सम्झौतामासमेत गरिंदैछ ।शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकाले सम्मेलन मार्फत लगानी भित्राउन लागेको नगरपालिकाले जनाएको छ ।

सम्मेलनमा स्वदेशी तथा विदेशी उद्योगी व्यवसायी गरी पाँच सय जनाको सहभागिता रहेको छ ।