काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नाेवल काेराेना भाइरसकाे संक्रमणकाे खतरालाई न्यूनीकरण गर्न राज्यका सबै निकायहरुलाई निर्देशन दिएका छन् ।

विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष बैठकको आयोजना गर्दै प्रधानमन्त्री ओलीले नागरिककाे स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययाेजनाअनुरूप समग्र तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्ध सचिवहरू, सुरक्षा अधिकारीहरू सहितकाे विशेष बैठक बोलाएका हुन् । बैठकमा उनले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई नेपाल ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिकाे तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य याेजनाबद्धरूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएको थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।