दुई गोली लागेपछि आबेलाई हृदयघात
काठमाडौं,एजेन्सी - जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो । त्यसै क्रममा उनी अचानक भुईँमा ढले । मिडिया रिपोर्टका अनुसार उनलाई पछाडिबाट दुई पटक गोली लागेको थियो । उनको अवस्था चिन्ताजनक रहेको छ ।
आबेको नारा मेडिकल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेट्न प्रधानमन्त्री फुमियो किशिदा अस्पताल पुगेका छन् । प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारीलाई पक्राउ गरेको छ । उनको साथबाट बन्दुक बरामद भएको छ । आक्रमणको कारण भने खुल्न सकेको छैन ।
हृदयघात पनि भयो
जापानी सञ्चारमाध्यमका अनुसार गोली लागेपछि सिन्जोलाई हृदयघात पनि भएको थियो । तर, यसबारे आधिकारिक धारणा भने आएको छैन । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा बन्दुकको आवाज सुनिएको थियो र आबेको शरीरबाट रगत बगिरहेको देखिएको थियो।
जापानी पत्रकार टोबियास ह्यारिसले शिन्जो आबेमाथि भएको आक्रमणको बारेमा धेरै ट्वीट गरेका छन्। उनले आफ्नो ट्विटमा भनेका छन्, ‘जसलाई जापानको चुनावी अभियान थाहा छ, उनीहरुलाई थाहा छ कि प्रचारका क्रममा नेता र मतदाताबीचको दूरी निकै कम हुन्छ । आबेको साथमा सुरक्षा अधिकारीहरू रहने भए पनि सम्पूर्ण अभियानमा कडा सुरक्षा छैन।’
जापानका मुख्य क्याबिनेट सेक्रेटरीले भनेका छन्, ‘शिन्जो आबेलाई शुक्रबार स्थानीय समय अनुसार ११ः३० मा नारामा गोली हानीएको थियो । अहिले उनको अवस्था कस्तो छ भन्ने खुलाइएको छैन ।’
जापानका क्याबिनेट सेक्रेटरी हिरोकाजुले पत्रकारहरुलाई भनेका छन् कि कारण जस्तोसुकै भए पनि यस्तो क्रूरता सहने छैन।
सडकमा भेटघाट गरिरहेका थिए, आक्रमणपछि धुवाँ निस्किएको थियो
जापानमा आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदैछ । यसका लागि शिङ्गे त्यहाँ प्रचारप्रसार गरिरहेका थिए । सडकमा एउटा सानो जमघट भएको थियो, जसमा १०० भन्दा बढी व्यक्तिहरू उपस्थित थिए। आबे भाषण दिन आउँदा एक आक्रमणकारीले पछाडिबाट गोली चलाएको थियो। बाहिर आएका भिडियोमा आक्रमणपछि धुवाँ निस्किएको देखिन्छ । त्यसपछि अराजकता मच्चियो ।
एनएचकेका एक प्रत्यक्षदर्शीले भने, ‘पूर्वप्रधानमन्त्रीले भाषण दिइरहेका बेला एकजना व्यक्तिले उनलाई पछ्याए। पहिलो गोलीको आवाज निकै ठूलो थियो, त्यसपछि शिन्जो आबे लडेका थिएनन्। दोस्रो प्रहार गर्दा आबे लडे। मानिसहरूले आबेलाई चारैतिरबाट घेरेका थिए। आक्रमणकारी टी–सर्ट लगाएका थिए । त्यो व्यक्ति दौडिरहेको थिएन। ऊ नजिकै उभिरहेको थियो र बन्दुक त्यहीँ थियो। प्रहरीले घटनास्थलबाटै शंकास्पद आक्रमणकारीलाई पक्राउ गरेको छ ।’
आक्रमणपछि आक्रमणकारीले भाग्ने प्रयास गरेका थिए
सिन्जो आबेलाई आक्रमण गरेपछि आक्रमणकारीले भाग्ने प्रयास गरेका थिए । तर, घटनास्थलमा उपस्थित सुरक्षाकर्मीले उनलाई समातेका थिए । प्रहरीले आरोपीलाई सोधपुछ गरिरहेको छ ।
शिन्जो दुई कार्यकालमा झण्डै ९ वर्षसम्म जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए । उनको नाममा सबैभन्दा लामो समय (९ वर्ष) प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो ।
आबेलाई आक्रामक नेता मानिन्छ। शिन्जोलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसले उनलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य तुल्यायो।
फेसबुक पेज Like गर्नुहोस