काठमाडौं,एजेन्सी-अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नी पूर्व पत्नीसहित ६ जनाको गोली हानी हत्या गरेका छन् ।

प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले उनीहरूमाथि विभिन्न स्थानमा आक्रमण गरेका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५२ वर्षीय रिचर्ड डेल क्रमलाई पक्राउ गरेको छ । उनले के कारणले गोलीबारी गरे भन्ने उद्देश्य भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

मिस्सिसीपीका गभर्नर टेट रिभ्सले आक्रमणकारी एक्लैले सो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । स्थानीय समयअनुसार बिहान ११ बजे एक पेट्रोल पम्पको कन्भिनियन्ट स्टोरबाट ती व्यक्तिले गोलीबारी सुरु गरेका थिए ।

उनले पहिले एक अपरिचित व्यक्तिमाथि गोली प्रहार गरेका थिए । त्यसपछि नजिकैको घरमा पुगेर आफ्नो पूर्व पत्नीलाई गोली हानेका थिए । त्यसपछि बाटोमा दुईजना व्यक्तिलाई गोली हानेका उनले घर नजिकै दुई निर्माण कामदारलाई गाली प्रहार गरेका थिए ।

यो घटनासँगै अमेरिकामा यो वर्ष बन्दुकसम्बन्धी सामूहिक हिंसाको घटनाको संख्या ७३ पुगेको छ ।