प्रतिनिधिसभा बैठक आज पनि बस्दै
काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसयता सदनमा पक्ष–विपक्षबीच तीव्र बहस जारी छ ।
बुधबारको बैठक भने नियमित कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन सदनमा उपस्थित नभएपछि प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए ।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।
आजको बैठकमा भने छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।
चालु अधिवेशन सरकारका लागि विशेष महत्त्वको मानिएको छ । यही अधिवेशनमार्फत सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बजेटअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
उता, राष्ट्रियसभाको बैठक पनि आज बिहान ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस