काठमाडौं-सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमै समेटिएको थियो । विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

जनकपुरको जितमा लाहिरू मिलन्थाले अर्धशतक प्रहार गरे। उनले नटआउट ७५ रन जोड्ने क्रममा ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। हर्ष थाकरले नटआउट २९ रन जोडे। उनले ३३ बलमा २ चौका हिर्काए।

जनकपुरका ओपनरद्वय अनिल साह र आसिफ शेख भने चल्न सकेनन्। आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा शून्यमा बोल्ड गरे। दोस्रो ओभरको अन्तिम बलमा अनिललाई विराटनगरका प्रतिश जिसीले पनि ५ रनमा बोल्ड गरेका थिए।

उद्घाटन खेलमा विराटनगरले मार्टिन गप्टिलको अर्धशतकका बावजुत कमोजर ब्याटिङ गर्‍यो। टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।

विराटनगरका लागि न्युजिल्यान्डका गप्टिलले ५५ रन जोड्ने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। १४औं ओभरको अन्तिम बलमा उनी हर्ष थाकरको बलमा जनकपुरका कप्तान अनिलकुमार साहबाट क्याच भए।