चिया बगान बाहेकका गिरीबन्धु टी इस्टेटको जग्गा स्वतः सरकारको हुन्छ : भूमिमन्त्री
काठमाडौैं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा अन्य प्रयोजनमा प्रयोग भएको पाइए त्यो स्वतः सरकारको हुने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले जग्गा धनीले हदबन्दीभित्रको जग्गाको स्वामित्व लिन पाएपनि बाँकी सरकारको नाममा आउने बताए ।
उनले भने–‘यहाँ गिरीबन्धु टी इस्टेटका, के के का कुरा आउँछन्, गिरीबन्धु टी–इस्टेट भनेको त्यो चिया बगान गराउन लिएको जग्गा हो, चिया बगाउन बनाउनका लागि लिएको जग्गा अर्कोमा परिणत गर्ने कहाँ भनेको छ र ? त्यो अर्कोमा परिणत गर्न पाइन्न, त्यही उद्देश्यमा काम गर्दैन भने त्यो स्वतः सरकारको हुन्छ ।’
मंगलबार भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले प्रयोजनबाहेकको काममा गिरीबन्धु टी इस्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने बताएका हुन् ।
विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ बास्तविक जनताको समस्या समाधान हुने गरी विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।
भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
त्यसअघि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले गिरीबन्धु जग्गा प्रकरण नीतिगत भ्रष्टाचारको स्पष्ट नमूना भएको बताएकी थिइन् ।
उनले भूमिसम्बन्धी ऐनमा अहिलेसम्म १६ पटक संशोधन भइसकेको उल्लेख गर्दै विधेयकमा चरणवद्ध संशोधन पनि नीतिगत भ्रष्टाचारको निरन्तरता भएको बताएकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस