राउटेलाई कूल पूजाको चटारो
सुर्खेत - जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् ।
राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्दछन् । यो समुदायले मस्टो पूजा, साउने र माघे सङ्क्रान्ति पर्वलाई विशेष धुमधामका साथ मनाउने गर्दछ । राउटे अगुवा हरिबहादुर शाहीले खसी र चामलका लागि वीरेन्द्रनगर आइपुगेको बताए । ‘भत्ताले नपुग्ने भएपछि प्रदेश सरकारसँग खसी र चामल किनिदिन माग गरेका छौँ’, उनले भने, ‘मन्त्रीज्यूले तपाईहरुको नाममा बजेट छुट्याएको छ, त्यही बजेटबाट केही रकमको व्यवस्था गरौँला भन्नुभएको छ ।’
हरिबहादुरसहित तीन जनाले बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई भेटेर सहयोग मागेका थिए । राउटे अगुवाले आफूहरुका लागि ४६ खसी–बोका आवश्यक पर्ने बताएका छन् । ‘प्रति परिवार एउटा खसी–बोका चाहिने हुँदा आजै बन्दोबस्त मिलाइदिन मन्त्रीलाई आग्रह गरेका छौँ’, अर्का अगुवा प्रकाश शाहीले भने, ‘मन्त्रीज्यूले भोको बस्नुपर्दैन भन्नुभएको छ ।’
हाल दैलेखको गुराँस गाउँपालिकामा ४६ घरधुरी राउटे बस्दै आएका छन् । सुरुमा राउटे अगुवाको टोली गुराँस गाउँपालिका कार्यालय पुगेको थियो । गाउँपालिकाले बजेट नभएको बताएपछि सिधै बस चढेर राउटे अगुवाहरु वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालय आइपुगेका थिए । राउटे अगुवाले काठमाडौँमा भेट हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खसी पठाउने आश्वासन दिएको सम्झिए । राउटे युवा प्रकाशले भने ‘जङ्गलमा पहिलेजस्तो कन्दमूल, गुना बाँदर पाइँदैन्, त्यही भएर मासुका लागि पनि खसीकै भर पर्नुपर्छ ।’ सरकारले दिने मासिक भत्ता रकमले चामल, नून, तेल र तरकारी किन्नमै खर्च हुने उनको भनाइ थियो ।
‘सरकारले भत्ता दिएका छौँ, पुग्छ नि भन्छ, यता हामीले सबै किनेर खानुपर्छ, पहिलेजस्तो गाउँमा मागेर पाइँदैन, हामीले बनाएका कोशी, मुुधुस, आरी पनि कसैले किन्दैनन्’, अगुवा हरिबहादुरले माग्दै हिँड्नुको बाध्यता सुनाए । प्रदेश सरकारले समयमै रकम नदिए यसपालीको मस्टो पूजा पनि खुल्लो हुने होकी भन्ने चिन्ता बढेको छ । सरकारी सहयोगको पर्खाइमा रहेका राउटे अगुवालाई भोलिसम्म खसीबोका र चामल बस्तीमा पुर्याइसक्न मुखियाले आदेश दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस