धनगढी - बसको ठक्करबाट महिलाको मृत्यु भएको घटनालाई लिएर कैलालीको अत्तरिया तनावग्रस्त बनेको छ ।
मृतकका आफन्तले दोषी चालकलाई कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आज पनि इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका हुन् ।
मृतकका आफन्त र प्रहरीबीच सोमबारदेखि घटनाबारे छलफल चलिरहेको भए पनि सहमति जुट्न सकेको छैन । माग सम्बोधन नभएको भन्दै आफन्त तथा स्थानीय मंगलबार पुनः प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनकारीहरू इप्रका मालाखेती अगाडि भेला भएर दोषीलाई कानुनी कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका छन् ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको छ । सम्भावित अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
बझाङको मष्टा गाउँपालिका–६ घर भई हाल गोदावरी नगरपालिका–१ मा बस्दै आएकी ३५ वर्षीया सिन्की बोहराको आइतबार अत्तरियामा बसको ठक्करबाट मृत्यु भएको थियो।
महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको बसले अत्तरिया बसपार्क क्षेत्रमा बोहरालाई ठक्कर दिएको थियो। उनी अत्तरिया बसपार्कमा पानी र भुजा बिक्री गर्दै आएकी थिइन्।
बसको ठक्करबाट बोहराको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तले आइतबार साँझ नै अत्तरिया बजारमा प्रदर्शन गर्दै बस चालकलाई कडा कारबाही गर्न माग गरेका थिए।
घटनापछि मृतकका आफन्त र प्रहरीबीच सोमबारदेखि निरन्तर छलफल भए पनि क्षतिपूर्ति र कारबाहीलगायतका विषयमा सहमति हुन नसकेको हो। बोहराको शव हाल सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

.gif)


