काठमाडौं - बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। 

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा रहेको व्यवस्थाअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो।

कार्यक्रममा विभिन्न दलका ११ जना सांसदले प्रधानमन्त्री शाहसँग प्रश्न गर्नेछन्।

संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंहले प्रश्न सोध्नेछन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङले प्रश्न गर्ने भएका छन्। त्यस्तै, नेकपा एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्नाले प्रश्न सोध्ने गरी नाम दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन र प्रमेशकुमार हमाल तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्नेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न सोध्ने भएकी छन्।

यसअघि भदौ १ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि समय निर्धारण गरेका थिए।

प्रतिनिधिसभा नियमावलीको दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले प्रश्नको विषयसम्बन्धी लिखित जानकारी बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि सभामुखलाई दिनुपर्ने व्यवस्था छ।

सोहीअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गराउन समय दिएका थिए। निर्धारित समयभित्र ११ जना सांसदले प्रश्न तथा त्यसको विषय संसद् सचिवालयमा दर्ता गराएका हुन्।