काठमाडौं - काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनसहित विभिन्न विषयमा ध्यानाकर्षण गराउने भएको छ।

मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग छिट्टै भेट गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीसँगको भेटमा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्थापनलगायत विषयमा छलफल गरिने फोरमले जनाएको छ।

फोरमका अनुसार प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहेदेखि नै उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल हुँदै आएको छ। 

यसअघि फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरेर नयाँ विकल्प खोज्ने विषयमा समेत पटक–पटक छलफल भएको थियो।

यसैबीच उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाका स्थानीयले आफ्ना माग १५ दिनभित्र सम्बोधन नभए फोहोर विसर्जन रोक्ने चेतावनी दिएका छन्।

स्थानीयको उक्त चेतावनीपछि फोरमले फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो।

फोरमले फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको साझा जिम्मेवारी भएकाले यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ ।

मंगलबारको बैठकले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद आशिका तामाङले फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि गरेको व्यवहारप्रति समेत आपत्ति जनाएको छ।