काठमाडौं - नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दर्ता गराएका छन्।

देउवाको वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको वारेसका रूपमा अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेका हुन् । 

कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवादमा सर्वोच्च अदालतले मुद्दालाई सुरुदेखिकै प्रक्रियाबाट सुनुवाइ गर्न अनुमति दिएको थियो। त्यसपछि पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले महाधिवेशनको प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न माग गर्दै देउवा–खड्का पक्ष सर्वोच्च पुगेको हो।

निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा अघि बढाएको महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गरिएको छ। देउवा–खड्का पक्षले कांग्रेसको आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको जिकिर गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका दुवै निवेदनमाथिको सुनुवाइ आगामी ११ गतेका लागि तोकिएको छ ।