मुकेश चौरसियाको हत्या घटनामा १२ जनाविरूद्ध किटानी जाहेरी दर्ता
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्या घटनामा संलग्न १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
बिहीबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध कारबाहीको माग राख्दै जाहेरी दर्ता भएको हो । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार जाहेरीसहितको निवेदन दर्ता भएको र यस विषयमा अब अनुसन्धान गरेर कारबाही अगाडि बढाइने छ ।
प्रहरीले मृतकका परिवारको तर्फबाट जाहेरी दर्ता गर्न नमान्दा पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा एक सातादेखि प्रदर्शन हुँदै आएको छ । उनीहरुले चौरसियाको हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आएका छन् ।हालसम्म चौरसियाको शव परिवारले बुझेका छैनन् । जाहेरी दर्ता भएपछि चौरसियाको शव बुझ्ने तयारी भैरहेको बताइएको छ । चौरसियाको शव अहिले वीरगंजकाे नारायणी अस्पतालमा राखिएको छ।
गत कात्तिक ६ गते विन्दावासिनी गाउँपालिका ५ प्रसौनीभाठामा भएको नेकपाको नवनिर्वाचित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा पार्टीकै असन्तुष्ट पक्षले चौरसियामाथि सांघातिक हमला गरेका थिए । चौरसियाको टाउकोमा बाँसको भाटाहरु प्रहार भएको थियाे । उनको भोलीपल्ट उपचारको क्रममा निधन भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस