काठमाडौं-नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । 

तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।

यस्तै, कांग्रेसले बारा-२ मा जसपालाई सघाउने निर्णय गरेको छ। त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा छन् । 

यस क्षेत्रमा यसअघि जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति भएसँगै यादवले उक्त ठाउँबाट निर्वाचन लड्न लागेका हुन्। 

र, चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।