धादिङ - भोटेकोशी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवश लुकाएको आरोपमा धादिङमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनलाई बाढीले बगाएर ल्याएको गरगहनासहित नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार गत भदौ १० गते आएको बाढीका क्रममा नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका लिलाबहादुर बोगटीको घर बगाउँदा उनका गरगहना पनि बगेका थिए। ती गरगहना भदौ ११ गते तामाङले फेला पारेको र त्यसलाई नियतवश लुकाउन खोजेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
गरगहनाका धनी बोगटीले घटनाबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि आदमघाट अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले खोजी गर्दै तामाङलाई गरगहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरगहनामा सुनजस्तो देखिने तीन थान बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी र दुई थान मंगलसूत्र रहेका छन्।
यस्तै, चाँदीजस्तो देखिने दुई जोर पाउजुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

.gif)


