काठमाडौं,धनुषा - प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन्। मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोर्ने बताए ।

मन्त्री साहले  अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पिसिआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिए ।

उनले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भईरहेको जानकारी दिए ।

यसै गरी कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगञ्ज, गौरमा भईरहेको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिईसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिए ।

यसैबीच प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवले हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।