काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा आज (२८ पुस) एउटा गैँडा मृतावस्थामा भेटिएको छ । योसहित चितवन राष्ट्रिय निकुञ्ज र जिल्लाका राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता मात्र कालगतिका कारण मरेका गैँडाको संख्या दश पुगेको छ ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको हो । केहीदिन अघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो ।

साउनयता निकुञ्ज क्षेत्रमा आठ वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा कालगतिले मरेका घिमिरेले बताए । गत वर्ष कालगतिले ४३ वटा गैँडा मरेका थिए । अघिल्ला वर्षमा वार्षिक सरदर २५ हाराहारीमा गैँडा कालगतिले मर्ने गरेको उनले जानकारी दिए ।

गैँडा जुधेर, दलदलमा फसेर, करेन्ट लागेर, बूढो भएर मर्ने गरेका छन् । कालगतिले गैँडा मरेका भए पनि तस्करबाट भने पछिल्ला वर्षमा जोगिएको छ । सशस्त्र द्वन्द्वका समयमा एकै वर्ष तस्करले खाग प्रयोगका लागि ३८ वटासम्म गैँडा मारेका थिए ।

पछिल्लो गणनाअनुसार देशभर ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा फेला परेका थिए । यस वर्षको चैत्रमा गैँडा गणना गरिँदै छ । पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ ।