काठमाडौं - जिल्ला अदालत सुनसरीले बलात्कार आरोपी धर्मगुरु सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिएको छ ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार आरोपी गिरीलाई सफाइ दिएको हो । सरकारी वकिलको कार्यालयले सोमबार तोकिएको पेशी सार्न अदालतमा निवेदन दर्ता गराएको थियो । तर, सरकारी वकिलको निवेदन नै दर्ता नगरी अदालतले गिरीलाई सफाइ दिने निर्णय लिएको हो।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

एक महिला अनुयायीले २०७६ कात्तिक ४ गते किटानी जाहेरीपछि गिरीलाई सुनसरी प्रहरीले गत वर्षकै मंसिर १६ गते पक्राउ गरेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।