काठमाडौं,परासी - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । कार्यालयले सेवा शुभारम्भ गरेपछि कर तिर्न भैरहवा र बुटवल जानुपर्ने जिल्लावासीको बाध्यता अन्त्य भएको छ ।

मङ्गलबार सिद्धार्थ मल्टी सेवा प्रालिका सञ्चालक शम्भु उपाध्यायलाई फर्मको पान नम्बर प्रदान गरेर सेवाको औपचारिक शुभारम्भ गरिएको थियो ।

परासीमा करदाता कार्यालय सञ्चालनमा ल्याएपछि यहाँका उद्योगी व्यवसायीलगायत जिल्लावासी हर्षित भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताए ।

कार्यालय स्थापनापछि करको दायरा फराकिलो बनाउने सरकारको लक्ष्य पूरा हुने लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवालले बताए । जिल्लावासीको सुविधाका लागि कार्यालय स्थापना गरिएको बताउँदै कार्यालय प्रमुख वसन्त अधिकारीले हाललाई सुनवल र बर्दघाट नगरपालिका बाहेक जिल्लाका अन्य पाँच वटै स्थानीय तहका नागरिकलाई सेवा प्रदान गर्ने बताए ।