काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले विश्वासको मत लिन सक्ने  राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले बैठक बोलाएको हो । बिहान १० बजेलाई संसदीय दलको बैठक बोलाइएको छ । 

बैठकबारे जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने जानकारी नभएको बताइएको छ । ठाकुर-महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेको छ भने भट्टराई-यादव पक्ष वैकल्पिक सरकारको पक्षमा रहेको छ ।

प्रतिनिधिसभाको अंकगणित हेर्दा नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्र वैकल्पिक सरकार बनाउन सक्ने अवस्था छैन।  त्यसका लागि जसपाको भूमिका निर्णायक हुने देखिन्छ । जसपामा अहिले ३२ जना सांसद रहेका छन् ।