भिजिट भिसामा विदेश पठाएर मानव तस्करीमा सघाउने ट्राभल्स सञ्चालक बल्खुबाट पक्राउ
काठमाडौं - नक्कली कागजातका आधारमा मिलेमतोमा भ्रमण (भिजिट) भिसामा विदेश पठाएर मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ ।
गैरकानूनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय विनोद कार्की रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार भ्रमण भिसामा विदेश जान लागेका युवायुवतीको शंकास्पद कागजातसहित राहदानी एक हजार पाँच सय १३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकोमा सोमध्ये दुई सय ४६ कागजात नक्कली कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएकोमा उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने निजलाई पक्राउ बिहीबार पक्राउ गरेर आज सार्वजनिक गरिएको हो ।
उक्त नक्कली कागजातको आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी, ट्राभल्स एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति रु १० हजारदेखि रु १५ हजारसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति रु ४० हजारदेखि रु ५५ हजारसम्म दिएर मिलाइ विदेश पठाउने खुल्न आएकोमा त्यसमा संलग्न ट्राभल्स सञ्चालक कार्कीलाई काठमाडौंको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
फेसबुक पेज Like गर्नुहोस