काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । 

उक्त रिटको सुनुवाइको लागि शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी निर्धारण भएको हो ।

सभापति लामिछानेको सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने निर्णयविरुद्ध रिटमाथि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले आजका लागि पेसी निर्धारण गरेको थियो ।

विपक्षीहरूको लिखित जवाफसमेत परिसकेको वा लिखित जवाफ पर्ने म्याद नाघिसकेको र प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिएको भन्दै हेर्न नहुनेबाहेक पेसी स्थगित नहुने गरी पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश दिइएको थियो ।

सहकारी सम्बन्धी मुद्दामा आफूविरुद्ध राजनीतिक प्रतिशोध साध्ने नियत राखी अभियोजन गरिएको दाबी गर्दै लामिछानेले कसुर फिर्ताको मागसहित महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए।

त्यसपछि गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

महान्यायाधिवक्ता भण्डारीले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएपछि युवराज पौडेल (सफल), अधिवक्ता आभास रेग्मीसहित कानुनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

निवेदक पौडेलले महान्यायाधिवक्ताको निर्णयलाई गैरकानुनी दाबी गर्दै उक्त निर्णय बदर गर्न अदालतसमक्ष माग गरेका छन्।

साथै, अदालतबाट अन्तिम टुंगो नलागेसम्म महान्यायाधिवक्ताको निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेशको समेत माग गरिएको छ।

महान्यायाधिवक्ताले स्वीकृति दिएपछि सम्बन्धित जिल्ला अदालतमा निर्णयका लागि पेस गर्नुपर्ने हुन्छ। तर, सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले कास्की र रूपन्देही जिल्ला अदालतले यस विषयमा निर्णय गरिसकेका छैनन्। सर्वोच्चको आदेशपछि मात्रै जिल्ला अदालतले आवश्यक निर्णय गर्नेछन्।