प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी आयोगमा पठायो
काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको हो ।
प्रदर्शनमा अस्वभाविक बल प्रयोग गरेर दमन गरेको र १९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो । मंगलबार दिनभर पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरे । अन्ततः प्रहरीले जाहेरी लिएर त्यसलाई गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ ।
काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराई- ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौँ । ‘दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौँ । पत्र यहाँबाट आयोगमा गइसक्यो ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस