प्रधानमन्त्री ओलीले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबार र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गरेका हुन् ।
नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।
भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । उनले मोदीलाई नयाँ वर्ष २०२० को शुभकामना पनि समेत दिए । उनले २०२० नयाँ वर्षमात्र नभएर नयाँ दशकको पनि सुरुवात भएको भन्दै नयाँ वर्ष र नयाँ दशक सबैका लागि सुस्वास्थ्य, दीर्घायु, प्रगति, प्रशन्नता र शान्ति लिएर आओस् भन्ने कामनासमेत गरे ।
फेसबुक पेज Like गर्नुहोस