काठमाडौं - राजनीतिक दलहरुले इतिहासकै शक्तिशाली सरकार भएपनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सरकार गठनको दुई बर्ष पुगेको सन्र्दभमा राजनीतिक दलहरुले सरकारको घोषणा र कार्यप्रगति पुर्ण रुपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुईतिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग गर्न नसकेको प्रतिक्रिया पनि उनीहरुले दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगती देखाउन नसकेको टिप्पणी गरे । बजेट खर्चको गति बढ्न नसक्नु, शुसासन कायम गर्नु नसक्नु र ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न दोषि पत्ता लगाउन नसक्नु तथा हत्या हिंसा लगायतका घटनामा संलग्न दोषीलाई कारवाही नहुनु लगायतले सरकारको असक्षमता देखाएको तर्क उनले गरे 

उनले भने “सरकारको दुई बर्षको आर्थिक गतिविधिको बारेमा कुरा गर्दा निरासाजनक र आमजनताले सोच अनुसार काम गर्न सकेको छैन । ल एण्ड अर्डर र गुडगर्भनेन्सको कुरा गर्ने हो भने, सुनकाण्ड, वाईडवडी काण्ड, न्यारोवडी काण्ड देखि यती होल्डिङ्सलाई दिएको ट्रष्टको जग्गा देखि लिएर के देखिएको छ भने सारमा आर्थिक र गुडगर्भनेन्समा आफ्नो परफरमेन्स विल्कुलै देखाउन नसकेको देखाईरहेको छ ।”

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको टिप्पणी गरे । राजनीतिक , प्रशासनिक आर्थिक, सामाजिक क्षेत्रमा धेरै संरचनागत परिर्वतन गर्न सक्ने हैसियतमा भएर पनि सरकारले काम गर्न नसकेको उनको तर्क थियो । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले संविधान संशोधन, आमाको नामबाट नागरिकता उपलब्ध गराउने लगायत विषय सम्बोधन गरेर राजनीतिक क्षेत्र सुधार गर्न पनि सरकार पुर्णरुपमा असफल रहेको बताए ।

उनले भने “ राम्रो अवसर प्राप्त भएको थियो । प्रधानमन्त्रीले त्यो अवसर गुमाउनुभयो । भ्रष्टाचार रोक्नका निम्ति प्रशासनिक सुधार गर्नुपथ्र्यो । जुन हाम्रो प्रक्रियामुखी व्यूरोक्रेसी थियो । यसलाइृ संरचनात्मक ढंगले बदलेर परिणाममुखी व्यूरोक्रेशीमा बदल्न सक्नु पथ्र्यो । भ्रष्टाचार नियन्त्रणका अंग पनि त्यत्ति प्रभावकारी थिएनन् । ”

उनले संसदप्रति उत्तरदायी लोकपालको व्यवस्था गर्नुपर्छ भन्दै आएको तर त्यसो हुन नसकेको र भ्रष्टाचार नियन्त्रणको नाममा ‘ठूला लुकाउने साना कोट्याउने’ काम भएको टिप्पणी गरे । उनले सात महिना भित्र जम्मा १४ प्रतिशत मात्रै बजेट खर्च हुनुले अन्ततः असारे विकासलाई शक्तिशाली सरकार भएर पनि सुधार गर्न नसकेको देखिएको बताए ।

राष्ट्रिय जनता पार्टीका महिन्द्रराय यादवले सत्तारुढ दल नेकपा भित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहस भएबाट सरकारको काम प्रभावकारी नभएको स्पष्ट पारेको संक्षिप्त प्रक्रिया दिए ।

सरकारका मन्त्री भने सरकारले यो दुई बर्षमा असाधारण काम गरेको दाबी गर्छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले इतिहासमै कसैले गर्न नसकेको काम सरकारले गरेको जिकिर गरे ।

उनले भने “विभिन्न वेथितिलाई चिर्दै असाधारण उपलब्धि प्राप्त गर्ने गरी आफू अगाडि बढेको छ । इतिहासमा कसैले गर्न नसकेका कामहरु यो सरकारले गर्ने गरी आफ्नो पाईला अगाडि सारेको छ । धेरै महत्वपुर्ण सफलताको बर्ष भन्न पर्ने ठाउँमा हामी पुग्छौ ।”

उनले केही कामको परिणाम देखिएको र केही कामको परिणाम देखिन समय लाग्ने भन्दै सरकारको कार्यशैलीको वचाउ गरे ।