राष्ट्रपति बनेपछि पहिलोपटक तिब्बत पुगे सी
काठमाडौं,एजेन्सी - चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति बनेपछि पहिलोपटक तिब्बत भ्रमण गरेका छन्।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बुधबार सी भारतीय सीमानजिकको सहर निङ्ची पुगेका हुन् । उनले त्यहाँ विकास निर्माण आयोजनाको निरीक्षण र स्थानीयसँग भेटघाट गरेका थिए । सीले त्यहाँ न्यांग नदीमा बनेको पुलको उद्घाटन गरेका थिए। बिहीबार उनी रेल चढेर तिब्बतको राजधानी ल्हासा पुगेका थिए। निङ्चीबाट रेल चढेर सी ल्हासा पुगेका हुन् ।
केही दिनअघिमात्रै तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रेल सेवा सुरू भएको थियो। उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्छ। ल्हासामा सीले पोताला दरबारलगायत स्थानको भ्रमण गरेका थिए।
तिब्बत चीनको स्वशासित क्षेत्र हो। तिब्बतको नियंग्सी शहर भारतको अरुणाचलको सीमा नजिकै पर्दछ। चीनले ७० वर्ष अगाडि तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो। सी दोस्रो पटक तिब्बत पुगेका हुन् । यसअघि सन् २०११ मा उपराष्ट्रपति भएको बेला सीले तिब्बत भ्रमण गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस