काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन्।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले मूल्य वृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भन्दै टिप्पणी गरे। एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताए।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्य वृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गरे। उनले पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वतः बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महँगीको मार खेप्नु परेको बताए।