बुटवल-अर्घाखाँचीबाट बुटवल जाँदै गरेको एक फोर्स गाडी दुर्घटनामा परेको छ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-५ दौरा चौतारीमा अर्घातोसबाट बुटवलका लागि हिँडेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार ब्रेक फेल भएर गाडी सडकमै पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा एक जना गम्भीर र अन्य ८ जना सामान्य घाइते भएका छन्।

अर्घाखाँची मालारानी–१ का ७० वर्षीय भोजराज भुसालको छाती र ढाडमा चोट लागेकाले उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ। अन्य ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

उक्त गाडीमा चालकसहित १५ जना सवार थिए।

दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।