संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं - कालापानी, लिपुलेक तथा लिम्पियाधुरालाई समेटेर जारी गरेको नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने गरी संघीय संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतिका आधारमा पारित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव राखेका छन् ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सीमामा देश एकजुट हुनुपर्ने बताएका हुन् ।
तर, नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संविधान संशोधन तत्काल नहुने भएको छ । नेपाली काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो ।
प्रधानमन्त्रीको प्रस्तावको जवाफमा सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएको भन्दै त्यसका लागि काँग्रेसले साथ दिने बचन दिएको बताए । उनले काँग्रेस केन्द्रीय समिति बैठकमा यसबारेमा निर्णय हुने बताए ।
फेसबुक पेज Like गर्नुहोस