काठमाडौं - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । 

पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् । 

‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त  माओवादीले पाउला,’ उनले भने, ‘यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’ 

६ महानगर र ११ उपहानगरमा भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने पनि अध्यक्ष प्रचण्डले जानकारी दिएका छन् । सोमबार बिहान बसेको गठबन्धनकाे बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ ।  

साथै अध्यक्ष प्रचण्डले आफू बलियो भए आफैं प्रधानमन्त्री हुनसक्ने संकेत गरेका छन् । पत्रकार सम्मेलनमा तपाईं बलियो नभएकाले बालुवाटार धाउनु परेको हो भन्ने पत्रकारको प्रश्नमा उनले  भने उनले यस्तो बताएका हुन् । आफू बलियो नभएकाले मात्रै अहिले बालुवाटार धाइरहेको हो भन्ने नबुझ्न अनुरोध गर्दै उनले बालुवाटारमा नै भेटघाट गर्ने प्रचलन बढी भएकाे बताए ।