काठमाडौं - दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। मंगलबार साँझ छानविन समिति संयोजक सहसचिव जनार्दन गौतमले प्रतिवेदन गृहमन्त्रीलाई बुझाएका हुन्। 

छानबिन समितिले दार्चुलामा तुइनबाट ब्याँस गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सिफारिस गरिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।

साथै, तुइन प्रकरणमा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति, राहत दिन भारतीय पक्षसँग कूटनीतिक माध्यमद्वारा पहल गर्न समितिले सिफारिस गरेको उनले बताए। 

दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए।