काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले चार वटा छुट्टाछुट्टै रिट दर्ता गराएका छन् । आइतबार नै निवेदन परे पनि सोमबार दर्ता भएको सर्वोच्च स्रोतले बतायो । 

ओलीले पूर्ण शपथ नलिएकाले फेरि गराउनुपर्ने माग गरिएको रिट निवेदनको पेशी सर्वोच्चले मंगलबारलाई तोकेको छ। प्रधानमन्त्रीले लिएको शपथमा केही शब्दहरु उच्चारण नै नभएको, जुन कार्य गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ।

ओलीले वैशाख ३१ गते प्रधानमन्त्रीको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेका थिएनन्।  ‘....... मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । 

राष्ट्रपतिले दोस्रो पटक भन्दा सो शब्द उच्चारण गरे पनि ओलीले उच्चारण गरेनन् । बरु, उनले ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई सिकाउन खोजेका थिए । प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया पछि राष्ट्रपतिले केही असहज महसुस गरेकी थिइन् ।

शपथ कानुनविपरीत भएकाले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउनसमेत निवेदकले माग गरेका छन् ।  

यस्तै, मन्त्री नियुक्त भएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ती बदर गर्न माग समेत गरेका छन् । उनीहरुको पनि मंगलबार नै सुनुवाइ हुने भएको छ।