काठमाडौं - निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दै साउन २१ देखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताको निवेदन दिन सकिने जानकारी दिएको हो ।

यसअघि आयोगले उपनिर्वाचनको विस्तृत कार्यतालिका स्वीकृत गरिसकेको छ । त्यसअनुसार असोज २१ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन साँझ अस्थायी उम्मेदवार सूची सार्वजनिक गरिनेछ भने असोज २४ गते अन्तिम नामावली प्रकाशित गरिनेछ ।

मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । आयोगले समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उपनिर्वाचनका उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ ।

रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्यको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।